झापा, २८ पुस (रासस)/ मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेसन नेपाल’मार्फत सहयोग गरेका हुन् । विद्यार्थीले फाउण्डेसन मार्फत तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिनुभयो ।
छात्रवृत्ति वितरणका लागि फाउण्डेसनका संयोजक आशिष लामिछाने र प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न बाध्य विपन्न समुदायका विद्यार्थीलाई सहयोग गरिएको बताउनुभयो । सम्झौता अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीले वार्षिक रूपमा पाँच हजार ८००, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले आठ हजार ४५० र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले ११ हजार ६०० छात्रवृत्ति पाउने छन् ।