ठूला कम्पनीमा कार्यरत कर्मचारीलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको विपक्षमा अमेरिकी सर्वोच्च अदालतको फैसला/राष्ट्रपति जो बाइडनद्धारा असन्तुष्टि व्यक्त । खोप अनिवार्यताले समुदायको सुरक्षा हुने राष्ट्रपति बाइडनको भनाई ।
अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति जो बाइडनले जारी गर्नुभएको ठूला कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाउनु पर्ने अथवा साप्ताहिक रुपमा कोभिड परीक्षण गर्नुपर्ने नियमको विपक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले बाइडन प्रशासनले जनादेशको अधिकारलाई नाघेको बताएका हुन् ।
सरकारले जारी गरेको खोप अनिवार्यता सरकारले लगानी गरेका स्वास्थ्य सुविधा लिनेमा सीमित हुने बताइएको छ । राष्ट्रपति बाइडनको प्रशासनले खोप अनिवार्य महामारी विरुद्ध लड्नका लागि गरिएको जनाएको छ । नागरिककै जीवन रक्षाका लागि जारी गरिएको नियमको विपक्षमा फैसला आएको भन्दै राष्ट्रपति जो बाइडनले असन्तुष्टि व्यक्त गर्नुभएको छ । अदालतको फैसला जेसुकै आए पनि राष्ट्रपतिका हैसियतले नागरिकको जीवन रक्षा आफ्नो मुख्य प्राथमिकता रहेको उहाँको भनाइ छ । राष्ट्रपति बाइडनले अमेरिकाकी स्वास्थ्य र अर्थतन्त्रको रक्षाका लागि सही निर्णय गर्दै कोरोनाबाट सुरक्षित रहन खोप लगाउन नागरिकहरुलाई आग्रह गर्नुभएको छ । खोप अनिवार्यताले कर्मचारी, उपभोक्ता र समुदायको सुरक्षा हुने राष्ट्रपति बाइडनको भनाई छ ।