नवलपुर, ३० पुस (रासस)/ नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताउनुभयो ।
“बाघले आक्रमण गरेको क्षेत्र निकुञ्जको क्षेत्र नभएर राष्ट्रिय वनमा पर्ने क्षेत्र हो”, तिवारीले भन्नुभयो, “तर हामीले डिभिजन वन कार्यालय नवलपुरसँग सहकार्य गरेर बाघको अनुगमन र खोजीको काम सुरु गरेका छौँ ।”
बाघको अनुमगनका लागि हात्तीसहित रेन्जर, प्राविधिक र सुरक्षाकर्मीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । बाघले मानिसलाई वन क्षेत्रमा आक्रमण गरेकाले कुन बाघले आक्रमण गरेको हो भनेर क्यामेरा ट्रयापिङका माध्यमबाट अनुगमन गरिरहेको जानकारी दिइएको छ । अनुगमन नै नगरी एक्कासी बाघ नियन्त्रणमा लिँदा मान्छेलाई आतङ्कित पारेको बाघ छुट्ने र अर्को बाघ नियन्त्रणमा लिने खतरा रहेकाले पहिले अनुगमन गरिने जनाइएको छ ।
