माघी पर्व

राष्ट्रिय समाचार

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गरेका छन् । स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर थारु समुदायका मानिसले माघी पर्व मनाउँदै आएका छन् । यो पर्वलाई ठाउँ अनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायमा छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् ।  

थारुहरुको महान् चाड माघी पर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ । कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम सञ्चालन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *