स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको छ । द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको पुष्टि भएको उहाँका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ । पार्टीका नेताहरुसँगको बैठकपछि उहाँलाई सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् । सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ अहिले सेल्फ आइसोलेसनमा रहनु भएको र उहाँले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ ।
प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र आवश्यक स्वास्थ्य उपचार भइरहेको जानकारी पनि दिनुभयो । स्विडेनमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेहरुको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको छ । महामारी बढ्दै गएकाले कतिपय गतिविधिहरु गर्न प्रतिवन्ध पनि लगाइएको छ । बार तथा रेष्टुरेन्ट बन्द गराउने, ५०० जनाभन्दा बढी मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइने लगायतका नियम लागू गरिएको छ । समयमै उच्च सतर्कता नअपनाइएमा अवस्था भयावह हुनसक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।