सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

राष्ट्रिय समाचार

दमौली, ३ माघ (रासस)/ तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने जनाएको छ ।

गृहमन्त्रालयको निर्णय अनुसार गत पुस २९ गते जारी आदेशबमोजिम कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानमा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता सबै निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था भएकाले खोप कार्ड साथमा लिई तोकिएका स्थानमा प्रवेश गर्न जिल्लावासीलाई अनुरोध गरिएको छ ।

प्रशासनले कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस एवं गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको छ । आदेशमा कोभिडको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा साबुनपानीले हात धुन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *