म्याग्दी, ५ माघ (रासस)/ म्याग्दी सदरमुकाम स्थित बेनी अस्पतालमा आइसीयु (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मंगललबारदेखि सो कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयुसहित आठ शैया क्षमताको उपचार कक्षमा सेवा सुरु भएको जानकारी दिनुभयो । यसअघि अन्य उमेर समूहकै बिरामीसँगै राखेर बालबालिकाको उपचार हुँदै आएको थियो । बालबालिकाको उपचारलाई प्रभावकारी र व्यवस्थित गर्न तथा हेरचाहमा सहजता लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो ।
यसअघि अस्पतालमा बालबालिकालाई न्यानो बनाउने ‘वार्मर कक्ष’ मात्र थियो । बालबालिका वार्ड सञ्चालनका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको ३८ लाखमा भवन निर्माण गरिएको हो । भवन बनाउन रु ५६ लाख बजेट विनियोजन भएको थियो । आइसीयुका सामान खरिद र जडान गर्न २ करोड ६१ लाख खर्च भएको छ । वि.सं २०७२ मा १५ बाट ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै लगेको छ ।
अस्पतालले आकस्मिक, बहिरङ्ग, कोभिड, बालबालिका सहित ६४ शैया बराबरको सेवा दिइरहेको प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताउनुभयो । यसअघि अस्पतालले इन्डोस्कोपी, सघन उपचारकक्ष, डायलाइसिस, शय्यामै पाइपबाट अक्सिजन आपूर्ति गर्ने सुविधा सहितको अक्सिजन पलान्ट, आँखा उपचार, दाँत उपचार, आफ्नै फार्मेसी, शल्यक्रिया मार्फत गरिने प्रसूति सेवा उपलब्ध गराउँदै आएको थियो ।