विश्वका सबैभन्दा ज्येष्ठ नागरिक, सबैभन्दा बढी उमेरको जेठो मान्छे स्पेनिस पुरुष साटर्निनो डे ला फुएन्टे गार्सियाको १ सय १२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २ सय ११ दिन हुँदा उहाँ जीवितमध्ये विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित हुनुभएको थियो । उहाँको आगामी महिना १ सय १३ औँ जन्मदिन मनाउने तयारी गरिएको थियो । फेब्रुअरी ११ सन् १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मनु भएका गार्सिया ४ फिट ९ इन्च अग्लो हुनुहुन्थ्यो ।
सन् १९३६ मा भएको स्पेनी गृहयुद्धमा सामेल हुन सेनामा भर्ती हुन उहाँलाई होचो कदका कारण दिइएन । त्यसपछि उहाँ एक सफल जुत्ता व्यवसायी बन्नुभएको थियो । सात छोराछोरी, १४ नातिनातिना र २२ पनाति पनातिनीहरूका अभिभावक उहाँ पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा हुनुहुन्थ्यो । गिनिज बुक्स अफ वल्ड्स रेकर्डको वेवसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट हुनुहुन्छ । सन् १८७५ फेब्रुअरीमा जन्मनुभएकी कालमेन्टको सन् १९९७ मा १ सय २२ वर्ष १ सय ६४ दिनको उमेरमा निधन भएको थियो ।