पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

राष्ट्रिय समाचार

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराउनुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यवसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताउनुभयो ।

छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेको पर्यटनमन्त्री आलेको भनाई छ । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्ष सहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो । पशुपति विकास कोष र बतास समूह अन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो ।

कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । सो आरोपपछि मन्त्री आलेले धर्मशालाको आफैँ गएर अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको सङ्ख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृतिबिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्नेजस्ता कार्य गरेको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *