धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

राष्ट्रिय समाचार

सरकारले प्राथमिकताका साथ कोभिड-१९ विरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप र खोप’ को नीतिअनुसार अघि बढ्दा दक्षिण एशियामै कोभिडविरुद्धको खोप धेरै प्रतिशतलाई लगाउने मुलुकमा नेपाल उक्लिएको हो । प्रधानमन्त्री देउवा सरकारको नेतृत्व लिएपछि खोप खरिद द्रुतगतिमा अघि बढेको, खोप केन्द्र आवश्यकता अनुसार बढाइएको र खोप लगाउने जनशक्तिमा व्यापक वृद्धि गरेका कारण खोप व्यवस्थापन चुस्त भएको हो ।

हाल सबै प्रदेशमा कोभिसिल्ड/एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ । प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन् । यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी, बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।

लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या एक करोड ३१ लाख छ हजार ७२६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *