पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण गरियो

Featured राष्ट्रिय समाचार

दमौली, १३ माघ (रासस)/ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको पशु शिविरमा २ सय २१ कुकुरको बन्ध्याकरण गरिएको छ । केन्द्रले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क पशु शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो । व्यास नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण शिविर सञ्चालन गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्र जथाभावी रुपमा सामुदायिक कुकुर छाडिँदा समस्या भएपछि केन्द्रले त्यस्ता कुकुरको बन्ध्याकरण गरेको हो । मङ्गलबार ८५ र बुधबार १३६ कुकुरको बन्ध्याकरण गरिएको छ । साथै ती कुकुरलाई रेविजविरुद्धको खोप पनि लगाइएको छ । व्यासका वडा नं १, २, ३, ४, ५ र ७ सम्म पुगेर सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइएको थियो । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागिएको छ ।

केन्द्रले व्यासभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो । कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेविजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको छ । केन्द्रका प्रमुख डा. श्रेष्ठका अनुसार उक्त नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *