सहिद सप्ताह औपचारिकतामा मात्रै

राष्ट्रिय समाचार

कोरोना प्रभावका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिक रूपमा मात्र मनाइएको छ । महामारीको प्रभावले यस वर्ष सहिद सप्ताहको दिन माघ १६ गते हुने प्रभातफेरी कार्यक्रम पनि नहुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।  

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि यस वर्ष विगतका वर्षमा झैँ सहिद दिवस मनाइने छैन । विगतका वर्षमा माघ १६ गते सहिद दिवसको दिन बिहान ९ बजे रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी लैनचौरको सहिद  स्मारकमा पुगेर ज्ञातअज्ञात सहिदको सम्झनामा १ मिनेट मौन धारण गर्ने गरिएको थियो ।

यस वर्ष प्रभातफेरी कार्यक्रम गरिने छैन । लैनचौरको सहिद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम मात्र गरिनेछ । जहाँ प्रधानमन्त्रीसहित केही उच्चपदस्थ अधिकारी  मात्र उपस्थित रहने कार्यक्रम रहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । सहिद सप्ताहको पहिलो दिन माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित  पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

यस वर्षको सहिद सप्ताहका अन्य कार्यक्रम यही माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको सालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा सीमित पदाधिकारी उपस्थित भएर पुष्पगुच्छा अर्पण गरी मनाउने कार्यक्रम रहेको छ ।

महानगरले प्रजातन्त्रप्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदको पूर्णकदको सालिक उहाँहरुले सहादत प्राप्त गरेकै स्थानमा निर्माण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *