आन्तरिक पर्यटकको रोजाईमा रामपुरको तालपोखरा

Featured राष्ट्रिय समाचार

रामपुर, १५ माघ (रासस)/ कोरोना महामारीका बाबजुद रामपुरको तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोको समय ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवा युवतीको सङ्ख्या बढिरहेको छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेका छन् ।  माघे सङ्क्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेका छन् ।

मानिसको चहलपहल बढेपछि डुंगा चालकहरुको आम्दानी पनि बढेको छ । जाडोको समय भएकाले दिउँसो घाम ताप्दै ताल वरपर घुम्नेहरु धेरै आउने गरेका छन् । ताल वरपर डुङ्गामा घुम्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन वटा डुङ्गा प्रयोगमा ल्याइएको छ ।

विशेष गरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउँने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ । एक सय पर्यटकीय गन्तव्य स्थलका रुपमा सूचिकृत पर्यटकीय स्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका कामहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *