विश्वभरि नै कोरोनाको संक्रमण दर घट्यो/विश्वको दैनिक संक्रमण ३५ लाखबाट घटेर २० लाख कायम/अमेरिकामा संक्रमित हुनेको संख्या ७ लाखबाट ७२ हजारमा झर्यो ।
विश्वभरि नै कोरोना संक्रमण दर विस्तारै घट्न थालेको छ । पछिल्लो २४ घन्टामा विश्वभर थपिने नयाँ संक्रमितको संख्या २० लाखमा झरेको छ । यो संख्या अघिल्लो साता ३२ देखि ३५ लाख रहेको थियो । विश्वमै उच्च संक्रमण दर र मृत्युदर रहेको संयुक्त राज्य अमेरिकामा संक्रमण दर र मृत्युदर दुबैमा उल्लेख्य कमी आएको छ । बितेको २४ घन्टामा अमेरिकामा ७२ हजार बढी नयाँ संक्रमित थपिए । अघिल्लो सातासम्म अमेरिकामा एकै दिनमा ७ लाखभन्दा बढी नयाँ संक्रमित थपिने गरेका थिए ।
केही दिन अघिसम्म कोरोना संक्रमणका कारण २ हजारभन्दा बढी रहेको दैनिक मृत्यु दर घटेर दैनिक २ सय जनामा सीमित भएको छ । यसै गरी उच्च संक्रमण दर रहेको अर्को मुलुक फ्रान्समा पनि संक्रमणदर घटेको छ । पछिल्लो २४ घन्टामा फ्रान्समा २ लाख ५० हजार नजिक नयाँ संक्रमित थपिए । अघिल्लो सातासम्म यो संख्या ५ लाखभन्दा बढी रहेको थियो ।
हाल फ्रान्स विश्वमै उच्च संक्रमण दर रहेको मुलुक हो । उच्च संक्रमण दर रहेको भारतमा पनि संक्रमित हुनेको संख्यामा उल्लेख्य रुमपा कमी आएको छ । भारतमा वितेको २४ घन्टामा १ लाख ७३ हजार बढी नयाँ संक्रमित थपिए । केही दिन अघिसम्म भारतमा संक्रमितको संख्या ३ लाख नजिक पुगेको छ । युरोपेली मुलुकहरु इटाली र जर्मनीमा दैनिक संक्रमण एक लाखमा झरेको छ । बेलायतमा भने संक्रमण दरमा भारी संख्याले कमी आई दैनिक ६२ हजार कायम भएको छ । ब्राजिल र रुसमा पनि संक्रमण दरमा कमी आए पनि मृत्युदर भने उच्च नै रहेको छ ।