बैतडी, २० माघ (रासस)/ बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो । नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।”
मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ । अठार यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको छ । उहाँले भन्नुभयो, “दैनिक ५-७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन् । १४-१५ जनासम्म पुगेपछि उडान गर्न सकिन्छ ।” वि स २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो ।