धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आगामी महिनादेखि रेल चल्ने

राष्ट्रिय समाचार

जनकपुर, २१ माघ (रासस)/ धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा संचालन हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौदेखिको आफूहरुको सपना साकार हुने भयो भन्दै स्थानीय हर्षित भएका हुन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासी रेलसेवाबाट प्रत्यक्ष लाभाम्वित हुनेछन् ।  

रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन नसकेका कारण निरास बनेका स्थानीयवासीमा अबको केही दिनमै रेल चल्ने पछिल्लो खबरले उत्साहित बनाएको हो । सुरुमा त रेल चल्छ भन्ने विश्वासै लागेको थिएन, तर लिकमा रेल गुडेको देखेपछि आशा पलाएको स्थानीयले बताएका छन् ।

 वि.सं २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल बडो तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *