सिलिगढी, माघ २१/ कोरोना भाइरसको महामारीका कारण बन्द भएका भारतको पश्चिम बंगालका विद्यालयहरू फेरि खुल्ला भएका छन् । कक्षा ८ देखि १२ सम्मको पढाइ बिहीबारदेखि सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गरिने घोषणा गत सोमबार गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन् ।
कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले गत जनवरी ३ देखि विद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन कार्य बन्द गरेको थियो । सरकारले त्यति बेलादेखि नै स्पा, शैलुन, व्युटी पार्लर, चिडियाखाना, मनोरञ्जनस्थल लगायत बन्द गर्ने निर्णय गरेको थियो । दुई वर्ष अगाडि सुरु भएको महामारीका कारण विद्यालयमा पठन पाठनको वातावरण बन्न नसकेको शिक्षक तथा विद्यार्थीहरूले बताएका छन् ।