पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका सहित मुलुकभर हल्का वर्षा भइरहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
यसै क्रममा बिहीबार रातीदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी लगायतका डाँडामा हिउँ परेको छ । वर्षाका कारण चिसो बढेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।