जलवायु परिवर्तनका कारण विश्वकै सर्वोच्च शिखर सगरमाथाको हिउँ पग्लिने क्रम अहिले सम्मकै तीव्र/२ हजार वर्षमा पग्लिनुपर्ने हिउँ ३२ वर्षमा नै पग्लिएको अध्ययनको निष्कर्ष ।
जलवायु परिवर्तनका कारण विश्वकै सर्वोच्च शिखर सगरमाथाको हिउँ पग्लिने क्रम अहिलेसम्मकै तीव्र भएको हालै गरिएको एक अध्ययनले देखाएको बिबिसीले जनाएको छ ।
माइन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले सगरमाथाको दक्षिणी मोहडामा विगत २५ वर्षमा ५४ मिटर हिउँको मोटाई घटेको तथ्य फेला पारेको छ । समुद्र सतहबाट ७ हजार ९ सय मिटरको उचाईमा रहेको ग्लासियर ८० गुना छिटो पातलिँदै गएको पनि अध्ययनले देखाएको छ ।
तापक्रम वृद्धि र तीव्र गतिको हावाहुरी सगरमाथाको हिउँ पग्लिनुको मुख्य कारण भएको बताइएको छ । वैज्ञानिकहरुको अध्ययनले सन् १९९० यता सगरमाथाको हिउँ पग्लिने क्रम उच्च गतिमा बढेको देखाएको छ । २ हजार वर्षमा पग्लिनुपर्ने हिउँ विगत ३२ वर्षमा नै पग्लिएको अध्ययनका क्रममा फेला परेको हो ।