स्याङ्जाको धार्मिकस्थल छाङ्छाङ्दी ओझेलमा पर्याे

राष्ट्रिय समाचार

वालिङ, २२ माघ (रासस)/ अहिले माघ महिना, श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । घर–घरमा श्रीस्वस्थानी व्रतकथा श्रवण गरेर बस्ने प्रचलन रहिआएको छ । श्रीस्वस्थानी व्रतकथाको महिमा जति भएपनि सोही कथासँग जोडिएको ‘छाङ्छाङ्दी’ भने ओझेलमै छ ।

स्याङ्जाको भीरकोट नगरपालिका ४ तथा वालिङ नगरपालिकाको सीमामा अवस्थित ‘छाङ्छाङ्दी’ पौराणिक, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत् वालिङ र बयरघारीको बीचभागमा रहेको यो पवित्र धार्मिक तीर्थस्थलमा अपेक्षाकृतरुपमा भक्तजनहरु आउन नसक्नुको मुख्य कारण यसको प्रचार प्रसार अभाव रहेको स्थानीयको भनाई छ ।  

धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले यसको महिमा हुँदाहुँदै पनि आन्तरिक तथा बाह्य भक्तजनलाई आकर्षित गर्न स्थानीयको भनाई छ । यसको महिमालाई देशका प्रसिद्ध धार्मिक तीर्थस्थलहरुसँग जोड्दै जानेगरी तयारी थालिएको भए पनि कोभिडका कारण निरन्तरता दिन नसकिएको बताइएको छ ।  यस ठाउँको महिमालाई अझै व्यापक रुपमा प्रचार प्रसार गरेर धार्मिक पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित गर्नका लागि थालिएको अभियानलाई पुनः निरन्तरता दिने बताइएको छ ।

यस ठाउँको विकासका लागि गुरुयोजना बनाएर बृहत्तररुपमा अगाडि बढ्ने समितिको योजना छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग, पार्क, साँघुरो भूबनोटलाई फराकिलो र आवश्यकता अनुसारका भौतिक संरचनाहरु निर्माण गर्दै लगिने योजना छ । मन्दिर परिसरमा हाल ५० जनासम्म अट्न सक्ने क्षमताको धर्मशाला, २१० जना क्षमताको सभाहल, शिवजीको मुर्ति तथा अष्टचिरञ्जीवीको स्थापनासँगै मन्दिरसम्म पुग्न र फर्किनका लागि छुट्टाछुट्टै सिँढी मार्ग निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *