फुङ्लिङ, २६ माघ (रासस)/ ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । अलैँची खेतीमा संलग्न किसान सबैभन्दा बढी हर्षित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ ।
अलैँची सिँचाइमा मूलकोभन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन् । जिल्लामा शुक्रबार र शनिबार वर्षा भएपछि हिमपातसमेत भएको छ । अलैँचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताउनुहुन्छ । अलैँची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले राहत मिलेको स्थानीयले बताएका छन् । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैँची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार यहाँ चार हजार ३०२ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ ।