डोटी, २७ माघ (रासस)/ डोटीमा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडाले अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
हिमपात भएका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबैभन्दा बढी हिमपात भएको छ । हिमपातपछि अहिले सरकारी कर्मचारीदेखि आन्तरिक पर्यटक त्यहाँ दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । बग्लेकमा सात वर्षयताकै ठूलो हिउँ परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकको घुइँचो लागेको स्थानीयवासी बताउँछन् । जिल्लामा कोरोना जोखिम कायमै रहेको र सार्वजनिक ठाउँमा बढी भिडभाड नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरे पनि हिउँ खेल्नका लागि दैनिक सयौँ नागरिक बग्लेक पुग्ने गरेका छन् ।