– अरुणबहादुर खत्री “नदी”
‘हलीको छोरो’ नामक बालकथा सङ्ग्रह साहित्यकार भाग्यशाली अधिकारीद्वारा लिखित कृति हो । यस सङ्ग्रहभित्र मेरो देश चिनाउने छु, म पनि ट्यूसन पढ्न जान्न, हलीको छोरो, कस्तो अचम्म, शैक्षिक भ्रमण लगायत विभिन्न शीर्षकका १० वटा बालकथाहरु रहेका छन् । यी कथाहरु विभिन्न विषयसँग सम्बन्धित छन् ।
यस सङ्ग्रहभित्रको पहिलो बालकथा मेरो देश चिनाउनेछु शीर्षकभित्र दशैँ नजिकै आउँदैथ्यो । बाहिर वातावरण एकदम रमणीय लाग्दथ्यो । शरद ऋतुको समय थियो आकाश कञ्चन सफा देखिन्थ्यो । राती शुक्लपक्षका चन्द्रमा झलमल्ल लाइरहेका थिए कथाकारले भनेका छन् । ठूलो शिक्षा मिल्यो शीर्षकको कथामा बाबा त कस्तो मान्छे अहिलेको जमानामा पनि उहिल्यै उहिल्यै हजुरले गरे जस्तो गर्ने भन्नुहुन्छ । त्यस्तो पनि कही हुन्छ छ्या । छोराछोरीले भने भनिएको छ ।
म पनि ट्यूसन पढ्न जान्न शीर्षकको बालकथाभित्र एक समय नुरुकी आमाले नुरुलाई लिएर मामाघर गइन् । नुरु आमासँगै मामाघर गयो । नुरु जानुको फुपू दिदीको छोरो थियो । नुरुको जानुसँग पहाडको मामाघरमा भेट भयो दुबै एउटै कक्षामा पढ्ने एउटै वर्षका दामली थिए भनिएको छ ।
कस्तो अचम्म शीर्षकको बालकथामा दादाले पनि दौडिदै आएर टाढैबाट यसो कोल्टिएर नियालेर हेरे अँ त नि साँच्चै के रहेछ त्यो है भने भनिएको छ । भुन्टीको दसैँ शीर्षकको बालकथामा भुन्टीले पनि दसैँमा अरुले मीठो मठो खाएको देखी उसलाई पनि खान मन लाग्यो । अरुले राम्रो राम्रो लगाएको देखी उसलाई पनि लगाउन मन लाग्यो अनि उसले आमासँग आमा ! आमा ! मलाई पनि राम्रो लुगा किनिदेऊ है आमा भनी कथाकारले भनेका छन् ।
सङ्ग्रहको नाम समेत रहेकाे ‘हलीको छोरो’ शीर्ष बालकथामा मनबहादुर आफू महाजनको घरमा हली बसेर भएपनि उसले आफ्नो घरको जीविका चलाउँदै आइरहेको थियो । मनबहादुर साह्रै गरिब थिए सम्पत्तिको नाउँमा उसको एउटा सानो छाप्रो मात्र थियो भनिएको छ । बुद्धिमानी पप्पी शीर्षकको बालकथामा नुनु विद्यालयमा विदा भयो कि मामाघर दौडी हाल्थी मामाघर गएपछि मामा दिदीहरुसँग खेल्न पाउँथी भनिएको छ ।
वैज्ञानिक, सामाजिक, पौराणिक र पारिवारिक विषयवस्तुलाई यी कथाहरुमा प्रस्तुत गरिएको छ । नेपालको विविधतामय भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेशको झल्को पनि यी कथाहरुमा पाइन्छ । यस सङ्ग्रहभित्रका बालकथाहरु हाम्रा प्यारा भाइबैनीहरुलाई ज्ञानवर्धक छन् । स्कुलमा पढ्ने भाइबैनीहरुले भाग्यशाली अधिकारीले लेखेको यो बालकथासङ्ग्रह पढ्न उपयुक्त नै छ ।
बालसाहित्यले नयाँ ज्ञान र सीप सिकाउछ । असल चरित्र निर्माण गर्ने प्रोत्साहन गर्छ । सत्मार्गतर्फ लैजान्छ । हरेक मानिसको जीवनमा बाल्यकालका भोगाइ र अनुभव अत्यन्तै रोचक हुन्छन् । बालकथाले रमाइलो ढङ्गले बालबालिकालाई धेरैभन्दा धेरै ज्ञानगुनका कुरा सिकाउछ जुन कुरा हामीले यत्तिकै भनेर सिकाउन सकिरहेका हुदैनौ वा बालबालिकाले नै ती कुरा बुझ्न सकिरहेका हुंदैनन् । बालकथामा कलम चलाउने भाग्यशालीले बालबालिकालाई अझ बढी माया गर्छन् ।
२०७३ सालमा निस्केको यस सङ्ग्रहभित्र रहेको भाग्यशालीका बालकथाहरु सानासाना भाइबहिनीहरुलाई अर्ति उपदेश दिने खालका छन् । यस बालकथासङ्ग्रहको प्रकाशक स्वदेश प्रकाशन प्रा.लि. हो । पृष्ठ संख्या ५९ र मूल्य रु.१००।– राखिएको छ ।