रुस कुटनीतिक माध्यमबाट युक्रेनको द्वन्द्व समाधान गर्ने पक्षमा रहेको युरोपेली संघका लागि रुसी राजदूतको भनाइ/युद्धका लागि नउक्साउन चेतावनी ।
युरोपेली संघका लागि रुसी राजदूत भ्लादिमिर चिजहोभले रुस अझै पनि कुटनीतिक पहलमा युक्रेनको द्वन्द समाधान गर्ने पक्षमा रहेको बताउनु भएको छ । बिबिसीसँगको कुराकानीमा रुसी राजदूत चिजहोभले मस्कोको कसै माथि पनि आक्रमण गर्ने मनसाय नरहेको स्पष्ट पार्दै युद्धका लागि बारम्बार उक्साएमा सोच परिवर्तन हुनसक्ने भन्दै चेतावनी समेत दिनुभयो । युक्रेनका विषयमा गत सोमबार र मंगलबार भएका कुटनीतिक गतिविधिपछि रुसको यस्तो भनाइ आएको हो । रुसले युक्रेनमाथि आक्रमण गर्ने योजनाका विषयमा बारम्बार अस्वीकार गर्दै आएको छ । तर युक्रेनी सीमा नजिकै १ लाखभन्दा बढी रुसी सेना तैनाथ राखिएकाले अमेरिका लगायत पश्चिमी देशहरुले रुसले जुनसुकै बेला युक्रेन माथि आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिंदै आएका छन् । सन् २०१४ मा रुसले युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपलाई आफ्नो कब्जामा लिएको थियो । त्यसबेलादेखि पूर्वी युक्रेनमा लगातार द्वन्द्व चलिरहेको छ । सो क्षेत्रमा रुस समर्थित पृथकतावादीहरूले धेरै क्षेत्रहरू नियन्त्रणमा लिएका छन् । द्वन्द्वका क्रममा १४ हजार मानिस मारिएका छन् ।