स्पेनी नरेशलाई कोभिड सङ्क्रमण

अन्तर्राष्टिय समाचार

स्पेनका राजा फिलिप छैठौंलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्पेनी दरबार स्रोतले जानकारी गराएको छ । उहाँलाई कोभिड सङ्क्रमण पुष्टि भए पनि सामान्य लक्षणहरू मात्र महशुस भएको बताइएको छ । सङ्क्रमणका हल्का लक्षणहरू देखिएपछि ५४–वर्षीय राजाले मङ्गलबार कोभिड सङ्क्रमण परीक्षण गराउनुभएको थियो । उहाँ एक हप्तासम्म अलग्गै बस्नुहुने र यस अवधिमा आफ्नो आवासबाट ‘आफ्ना संस्थागत क्रियाकलापहरू’ गर्नुहुने बताइएको छ ।

स्पेनी नरेशले बुधबार नै म्याड्रिडमा बोस्नियाली राष्ट्रपतिका क्रोएसियाली प्रतिनिधि जेल्ज्को कोमसिकसँग भेटवार्ता गर्नुभएको थियो । राजा फिलिपले २०२१ मे महिनामा कोभिड–१९ विरूद्धको पहिलो मात्रा खोप लगाउनुभएको दरबारका अधिकारीले बताएका छन् । एएफपीले उहाँले अन्य खोप लगाउनुभयो वा भएन भन्ने बारे फोन मार्फत् सोधिएको प्रश्नमा ती अधिकारीले थप खोपबारे कुरा गर्न चाहनुभएन ।

नरेशलाई कोभिडको सङ्क्रमणपछि सामान्य लक्षण देखिए पनि रानी लेटिजिया र कान्छी छोरी सोफियामा भने लक्षणहरू देखिएका छैनन् । उहाँहरूले सामान्य रूपमा आफ्ना क्रियाकलापलाई जारी राख्नुहुनेछ । उहाँहरूकी जेठी छोरी लियोनरले भने वेल्सस्थित एक आवासीय विद्यालयमा पढिरहनुभएको छ । कोभिड–१९ संक्रमण दर घटेको र अस्पतालहरूमा कोभिड सङ्क्रमित विरामीको चाप कम भएपछि स्पेनले बिहीबारदेखि घरबाहिर हिँड्दा अनुहारमा मास्क लगाउनुपर्ने नियमलाई अन्त्य गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *