दुग्ध विकास संस्थान (डीडीसी) ले दुधको मूल्य बढाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दुधको मूल्य रु नौ बढाइएको जनाएको हो । यसअघि दुधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा शुक्रबारदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर रु ८५ पुगेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो । बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौँ उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा प्रतिलिटर रु ८५, बुटवल भैरहवामा प्रतिलिटर रु ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम हुनेछ ।
यसअघि काठमाडौँमा रु ७६, बुटवल भैरहवामा रु ७२ र नेपालगञ्ज क्षेत्रमा रु ७० तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर रु दुई रुपैयाँ ४८ पैसा उद्योगीले पाउनेछन् । यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ ।