आदरणीय लेखक किशाेर पहाडी राम्रा कथाहरु लेख्नुहुन्छ। उहाँ नेपाली साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ कवि र कथाकार हुनुहुन्छ । अग्रज लेखक पहाडीको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । उहाँ बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :
मैले पढेको पहिलो स्कूल हो- काठमाडौँको डिल्लीबजारमा अवस्थित “विजय मेमोरियल हाईस्कूल” । त्यहाँ म ६ वर्षको उमेरमा २ कक्षामा भर्ना भएको थिएँ जस्तो लाग्छ । यो वि.सं. २०१९ सालतिरको कुरा हो । स्कुलको पहिलो दिनमा मेरो मनमा धेरै नै डर थियो । नयाँ ठाउँको डर, नयाँ वातावरणको डर, नयाँ मान्छेहरूको डर, नयाँ शिक्षकहरूको डर । त्यतिखेरको मेरो कक्षामा बेञ्च थिएन, सुकुलहरू ओच्छ्याइएका थिए । सुकुल भनेको बस्नको निम्ति परालद्वारा बनाइएको ठुलो चकटी जस्तै चीज हो ।