काठमाडाैँ, ५ फागुन / पाशुपत क्षेत्रमा महाशिवरात्री अगाडि नै भगवान् शिव तथा अन्य देवी देवताका चित्र बनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको हो । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गराएर सजाउनु निर्देशन दिनुभएको हो ।
यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसल व्यवस्थित ठाउँमा तत्काल सार्न र यहाँ फूल प्रसाद बिक्री गर्नेका लागि पायक पर्ने ठाउँमा पसल निर्माण गर्नसमेत निर्देशन दिनुभयो । निरीक्षणकै क्रममा मन्त्री आलेले पशुपति परिसरमा सरसफाइ, जीर्णोद्धार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्न समेत आग्रह गर्नुभयो । देश विदेशबाट आउने लाखौँ भक्तजनको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यवस्थित र आकर्षक बनाइने मन्त्री आलेले बताउनुभयो । पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले मन्त्रीको निर्देशनपछि व्यावसायिक कलाकार लगाएर भित्तामा कलात्मक तस्बिर चित्रण गर्ने काम तत्काल सुरु गरिने बताउनुभयो ।