आज प्रजातन्त्र दिवसकाे कुरा गराैँ

सम्पादकीय

भाइबिहनीहरु,

२००७ साल फागुन ७ गते एकतन्त्रीय राणा शासन अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले लामो समयदेखि गरेको संघर्ष र सहिदको बलिदानले सफलता पाएको दिन भएकाले पनि फागुन ७ गतेको विशेष महत्व रहेको छ । वि सं १९९७ सालमा चार सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा आवाज उठाएकाे कारण मृत्युदण्ड दिइएको थियो । त्यसपछि राणा विरोधी आन्दोलन थप सशक्त बन्न पुग्यो ।

राणा विरोधी आन्दोलनलाई सक्रियापूर्वक अघि बढाउन देशभित्र र बाहिर राजनीतिक पार्टीहरु संगठित हुन थाले । यसैबिच तात्कालीन राष्ट्रिय काँग्रेस र प्रजापरिषद्को नेतृत्वमा देशव्यापी आन्दोलन सुरु भयो । प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई साथ दिँदै तात्कालीन राजा त्रिभुवन सपरिवार भारतमा शरण लिन पुग्नु भएको थियो । राजा त्रिभुवनले भारतमा शरण लिएपछि निरंकुश राणा सरकारमाथि थप दबाब पुग्यो । अन्ततः जनता सामु घुँडा टेक्न बाध्य भयो । राजा त्रिभुवनले स्वदेश फर्किएर २००७ साल फागुन ७ गते देशमा प्रजातन्त्रको घोषणा गर्नु भएको थियो ।

जहानियाँ राणा शासनको अन्त्य भई नागरिक स्वतन्त्रता र अधिकारको स्थापना भयो । जनताले लेख्ने, पढ्ने र बाेल्ने स्वतन्त्रता प्राप्त गरे । प्रजातन्त्र एक अविछिन्न जनहितका लागि चल्ने शासन प्रणाली हो । नेपालको इतिहासमा प्रजातन्त्र र नेपाली जनताको स्वतन्त्रता माथि पटक पटक प्रहार भएको छ । बिचकाे समयमा प्रजातन्त्र प्राप्त गर्ने र गुमाउने श्रृ‌खला नै चल्यो ।

वि.सं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाई जेल हालेर राजा महेन्द्रले एकदलीय पश्चायती व्यवस्थाको घोषणा गरेपछि फेरि प्रजातन्त्र खोसियो । फेरि प्रजातन्त्रको पुनर्स्थापनाका लागि राजनीतिक दलहरु एक जुट भए । त्यसपछि २०४६ सालमा भएको ऐतिहासिक जनआन्दोलन मार्फत् प्रजातन्त्रको पुनर्वहाली भएको थियो । तत्पश्चात् तत्कालीन राजा ज्ञानेन्द्रले शाही कु गर्दै प्रजातन्त्र खोसेपछि नेपाली जनताले फेरि प्रजातन्त्र र स्वतन्त्रताका लागि संघर्ष गर्नुपर्‍यो । जनसंघर्षको बलबाट २०६२/६३ मा दोस्रो जनआन्दोलन मार्फत् पुन: प्रजातन्त्रको पुनर्स्थापना भयो । अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ ।

अहिले संघियता,लोकतन्त्र,धर्मनिरपेक्षता,समानुपतिक समावेशी राज्य प्रणाली र वहुदलीय शासन पद्तिको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अघि बढाउनु पर्ने चुनौती छ । प्रजातन्त्र वा लोकतन्त्र वा गणतन्त्र जे भनेपनि आखिर जनताको जीवनस्तर सुधार भयो कि भएन ? भन्ने कुरामा  याे व्यवस्था सवल र सक्षम भएको मानिन्छ । निरंकुश राणा र शाही शासनकालको अन्त्य पश्चात् पनि दलहरुले मुलुकलाई सही निकास र विकासको मार्गमा अघि बढाउन सकेका छैनन् । जनताको त्याग र बलिदानले प्राप्त भएकाे शासन व्यवस्थामा जनताको आकांक्षा पूरा गर्नु सरकारको प्रमुख दायित्व हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *