बेलायतको राजधानी लण्डनमा रहेको हिलिङ्डन अस्पतालले आगामी फेब्रुअरी २५ मा दिन ‘नेपाल डे’ मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेल मार्फत् सो अस्पतालमा कार्यरत कर्मचारीलाई जानकारी गराएका हुन् । सो अस्पतालमा हाल ७८ देशका नागरिक विभिन्न पदमा कार्यरत छन् ।
कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ । सो समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहनु भएकी रस्मिता सिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङ लगायत नेपाली आवद्ध छन् ।
कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको सो समूहका अनुसार फेब्रुअरी २५ मा दिनको १२ बजे अस्पतालको चमेना गृहमा नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरू गरिने र नेपाली राष्ट्रिय गीतको अङ्ग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ ।
नेपाली वेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताउनु भयो । नेपालको भौगोलिक र ऐतिहासिकता झल्काउने विभिन्न पर्यटकीय स्थल समेटिएको श्रव्यदृश्य पनि देखाइने भएकाे छ ।
यसका साथै अस्पतालको कार्यक्रम स्थलमा नेपाली कला, सङ्गीत तथा अन्य रमणीय स्थानका तस्बिर र नेपाली कला प्रदर्शनी पनि गरिने जानकारी दिइएकाे छ । अस्पतालमा करिब १ सय ५० जना नेपाली कार्यरत छन् ।