भाइबहिनीहरु, नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमण सहित विभिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी १ सय १४ जना सैनिक जवानको मृत्यु भएको जानकारी दिइयो ।
रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट सेनाले जनशक्ति गुमाउनु परेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय चितवनमा ध्रुवे हात्तीको आक्रमणमा परी एक सैनिकको ज्यान गएको थियो । सेनाले चार दशकअघिदेखि प्रकृति संरक्षणको क्षेत्रमा तैनाथ भई सङ्कटापन्न जनावर तथा प्रकृति संरक्षणमा विशिष्ट योगदान पुर्याउँदै आएको छ ।
सेनाद्वारा वन्यजन्तु तथा प्रकृति संरक्षणमा गरिएको योगदानको विश्व समुदायबाट उच्च प्रशंसा समेत हुँदै आएको छ । मुलुकका चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपुरी, सगरमाथा, बाँके, मकालु वरुण, शक्लाफाँटा र से-फोक्सोण्डो सहित १२ निकुञ्ज, कोसीटप्पु वन्यजन्तु आरक्षण, ढोरपाटन शिकार आरक्षण तथा अन्नपूर्ण, कञ्चनजङ्गा, कृष्णसार, मनास्लु, अपिनाम्पा र गौरीशङ्कर संरक्षणमा सेना तैनाथ छ ।
अब नेपाली सेनाले हिमाली क्षेत्रबाट फाेहर सङ्कलन अभियान गर्ने भएकाे छ । याे अभियान आगामी चैत २२ देखि जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा हिमाली क्षेत्रबाट ३५ टन फोहर सङ्कलन गरिने लक्ष्य रहेकाे जानकारी दिइएको छ ।