गलकोट, १७ फागुन (रासस)/ पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालय समेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट, चक र चकपछि मार्करले ह्वाइटबोर्डमा लेखेर अध्यापन गराउने विद्यालयका शिक्षक स्मार्ट तरिकाले अध्यापन गराउन थालेका हुन् ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङका विद्यार्थीलाई विद्यालयले डिजिटल माध्यमबाट अध्यापन गराउन थालेको छ । विद्यालका सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ । कक्षा ६ देखि १२ सम्मका सातवटा कक्षाकोठामा ४३ इन्चको स्मार्ट टिभी जडान गरिएको छ ।
शिक्षकले ल्यापटपमा भएको पाठ्यसामग्री स्मार्ट टेलिभिजनमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामा समेत डिजिटल माध्यमबाट अध्यापन गराउन सक्ने सिगाना मावि तित्याङले जनाएको छ । अहिले ल्यापटपबाट विद्यार्थीलाई अध्यापन गराउने विषयमा शिक्षकले तालिम लिइराखेको विद्यालयका प्राचार्य गोपालकुमार शर्माले जानकारी दिनुभयो ।
विद्यालयले रु १६ लाख २६ हजार खर्चेर शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाएको हो । शर्माका अनुसार ६ देखि १२ सम्मका सबै कक्षा कोठामा स्मार्ट टिभी र १२ शिक्षकका लागि ल्यापटप वितरण गरिएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने भन्दा गुणस्तर बढाउनेतर्फ ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।
विद्यालयमा हाल ३२० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको सङ्ख्या बसाइँसराइका कारण घटिरहेको छ । तर शैक्षिक गुणस्तर भने बढाउँदै लगिएको अध्यक्ष खड्काले भन्नुभयो । प्राथमिक तहमा समेत डिजिटल माध्यमबाट अध्यापन गराउनका लागि गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु चार लाख बजेट विनियोजन गरेको छ ।
डिजिटल माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने विद्यालयको भनाइ छ । विद्यार्थीले अध्ययनका अतिरिक्त अन्य क्रियाकलाप अन्तर्गत विद्यालयकै जग्गामा केराखेती समेत गर्दै आएका छन् ।