महाशिवरात्रि पर्व :  पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

राष्ट्रिय समाचार

काठमाडाैँ, १७ फागुन / महाशिवरात्री पर्व भगवान शिवजीको उपासना गरी भव्यताका साथ मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री भगवान शिवजी उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ ।

महाशिवरात्री आराध्यदेव महादेवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ । शिवरात्री भगवान शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको मानिन्छ । हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । यिनै चार रात्री मध्ये शिवरात्री एक पवित्र पर्वका रूपमा रहेको छ । फागुन कृष्ण चतुर्दशीका दिन प्रत्येक वर्ष यो पर्व मनाइने गरिन्छ । सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको प्रिय दिनका रूपमा पनि यस पर्वलाई लिइने गरिन्छ ।

व्रत उत्सव मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मन्त्र जप गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन र शिव पार्वतीको विवाह भएको दिनका रुपमा शिवरात्रि पर्व मनाइन्छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । यसै कारण पनि देश विदेशबाट शिवभक्तहरुको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि घुइँचो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *