युद्धरत रुस र युक्रेन बिचको शान्तिवार्ता निष्कर्षमा पुग्नसकेन, असफल भयाे/रुसद्धारा आक्रमण जारी/युक्रेनको दोस्रो सहर खार्किभमा हिजो भएको आक्रमणमा कयौं युक्रेनी मारिए ।
रुस र युक्रेन बिच युद्ध सुरु भएको पाँचौ दिनमा हिजो भएको वार्ता निष्कर्षमा नपुगेपछि रुसले आक्रमण कायमै राखेको छ । रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल लामो लस्कर युक्रेनी राजधानी कीभतर्फ बढ्दै गरेको भूउपग्रह तस्वीरहरु सार्वजनिक भएका छन् ।
राजधानी किभमा फेरि रुसले हवाई आक्रमण गर्ने तयारी गरिरहेको खबर सहित शहरको बाहिरी भागमा साइरनहरु बज्न थालेकाले स्थिति थप नाजुक बनेको छ । युक्रेनको दोस्रो सहर खार्किभमा हिजो भएको रुसी मिसाइल आक्रमणमा परी कयौं सर्वसाधारण मारिएको आन्तरिक मन्त्रालयले जनाएको छ । बेलारुस र युक्रेनको सीमा क्षेत्रमा भएको शान्तिवार्तामा युक्रेनले तत्काल युद्धविरामको घोषणा र युक्रेनबाट रुसी सेना फिर्ता हुनुपर्ने माग गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
रुसले युक्रेनको माग सुनुवाई नगरेकाले आक्रमण जारी छ । तर वार्ताको ढोका भने खुल्लै राखेको छ । पुनः वार्तामा बस्ने गरी हिजोको शान्ति वार्ता बिना निष्कर्ष टुंगिएको हो । रुस माथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक नाकाबन्दी सहित युद्ध रोक्न दवाव बढिरहेको छ । युक्रेनले युरोपेली संघको सदस्य बनाएर आफूलाई सक्दो सहयोग गर्न संघसँग पुनः आग्रह गरेको छ ।