तुलसीपुरमा जन्तीढुङ्गा हेर्नेको भिड

राष्ट्रिय समाचार

१८ फागुन, तुलसीपुर/ कुँदिएका जस्ता देखिन्छन्, हजारौँ ढुङ्गा छन्, जति हेर्‍यो उत्ति हेरौंहेरौं  लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका ती हजारौँ ढुङ्गा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुङ्गा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ । कुँदिएका जस्ता देखिने ती ढुङ्गा जन्ती, दुलहा–दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहाँ झाँक्री पनि गएको र उनी पनि त्यही बिलाएको भन्ने किंवदन्ती छ ।

“हामी सानै छँदा यो बाटो हिँड्नु हुँदैन, त्यहाँ जन्ती बिलाएको ठाउँ हो, त्यो बाटो हिँड्दा हामी पनि बिलाउँछौँ भनेर बूढापाकाले भन्नुहुन्थ्यो”, स्थानीयवासी ८० वर्षीय लीलाधर भट्टराईले भन्नुभयो, “त्यही भएर हामी यो बाटो हिँड्दैनथ्यौँ ।”, त्यहाँ दुलही ल्याउन गएका जन्ती विश्राम गरेको र त्यही क्रममा बिहान भएपछि जन्तीहरूलाई कहाँ जाऊँ र के गरुँ भएपछि त्यही बिलाए भन्ने छ । यो कुरा अहिलेसम्म कहीँ पनि खुलेको छैन ।

यो ठाउँ पर्यटकीयस्थल बन्न सक्ने भएकाले यसको प्रचार आवश्यक रहेको भन्दै त्यहाँ वर्षेनी मेला लाग्ने गर्छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला लाग्ने गरेको स्थानीयवासी जागेश्वर ओलीले बताउनुभयो । यहाँको प्रचार–प्रसार गर्न सकियो भने पर्यटकीय हिसाबले ठूलो क्षेत्र बन्न सक्छ”, उहाँले भन्नुभयो, “सोहीअनुसार हामीले प्रत्येक वर्ष शिवरात्रिमा मेला लगाउँर्छौँ ।” तुलसीपुरको १३ र १४ को सिमाना अन्तर्गत् झाँक्री ढुङ्गा सामुदायिक वनको डाँडामा त्यस्ता ढुङ्गा छन् । त्यहाँबाट रिहार जोड्ने सडक छ । यसले गर्दा पनि सहजै पर्यटक आउन सक्ने स्थानीयको भनाइ छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *