
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । आसुरी शक्तिमाथि दैविक शक्तिको जीत भएको खुसीमा मनाइने होली पर्वको छुट्टै धार्मिक महत्व छ । पौराणिक कथामा महानास्तिक हिरण्यकश्यपुले आफ्नै छोरा प्रल्हादलाई मार्न अनेकौं उपाय गरेको प्रसङ्ग छ । हरक्षण नारायण….नारायण भन्दै एकोहोरो विष्णुको ध्यान गरिरहने प्रल्हादकोे चरित्र हिरण्यकश्यपुलाई सह्य भएन । विष्णुप्रतिको इश्र्याले ऊ चिढिन्थ्यो र प्रल्हादलाई भन्थ्यो, “तैंले भगवान् मानेको विष्णु वास्तवमै शक्तिशाली छ भने उसले मेरो शक्तिलाई पराजित गरी तँलाइ बचाएर देखाओेस् अन्यथा उसलाई भगवान् मानेर पूजा गर्नु केवल तेरो ढोङ् हो ।” यस्तो चुनौती दिँदै प्रल्हादलाई मार्न उसले अनेकौं उपाय गर्यो, तर सबै प्रयास अर्थहीन भए ।

अचानक एकदिन प्रल्हादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई अह्रायो । होलिका आगोले डढाउन नसक्ने वरदान पाएकी नारी थिई । दाजुले भनेअनुसार उसले प्रल्हादलाई काखमा लिई र आगोमा बसी, तर आगोले वरदानको मतलव नराखि सत्यको साथ दिए । आगोको धर्म जलाउनु हो । त्यसैले अग्निले आफ्नो धर्मलाई इमान्दारीपूर्वक पालन गर्दा होलिका जलेर नष्ट भई, तर भक्तप्रह्लादलाई केही भएन । होलिकाको मृत्यु भएको खबरले खुसी भएका नगरवासीहरूले एक आपसमा रङ् र अविर छ्यापेर खुसीयाली मनाए । यो घटना भएको दिन फागुन शुक्ल पूर्णिमा तिथिमा परेको हुँदा हरेक वर्ष सोही तिथिमा फागु पूर्णिमा पर्व मनाउने परम्परा सुरु भएको धार्मिक विश्वास छ ।
अर्को प्रसङ्गमा द्वापरमा श्रीकृष्णलाई विषक्त दूध खुवाएर मार्न आएकी कंशकी बहिनी पुतनाको सम्पूर्ण रगत चुसेर श्रीकृष्णले मारीदिनु भयो । पुतनाको मृत्युपछि उसको शवलाई ब्रजका नरनारीले जलाएर आपसमा रङ् र अबिर दल्दै हर्षोल्लास मनाएको हुँदा अहिले पनि पुतनालाई दहन गरेर होली खेल्ने परम्परा रहेको धार्मिक मान्यता छ ।
होली मनाउँदा फाल्गुण शुक्ल अष्टमीका दिन बाँसमा रङ्गिन कपडाहरू बेरेर चीर बनाइन्छ । यो चीरलाई विधिपूर्वक गाडेपछि होली सुरू हुन्छ । पूर्णिमाको अघिल्लो रात हिरण्यकश्यपुकी बहिनी होलिकाको प्रतिरूप बनाएर जलाइन्छ र भोलिपल्ट बिहानैदेखि आपसमा रङ् खेल्न सुरु हुन्छ । दिनभर होली खेलेपछि साँझपख अष्टमीमा गाडेको चीरलाई ढालेर जलाइन्छ । चीर जलिसकेपछि एक वर्षका लागि होली समाप्त हुन्छ । दहन भएको चीरलाई केही स्थानमा पुतना जलेको पनि भन्ने चलन छ ।
होलीमा एकले अर्कालाई रङ् दल्ने, रङ्गिन पानी छ्याप्ने र एकै स्थानमा भेलाजम्मा भएर मिठा परिकार बनाई खाएर रमाइलो गर्ने चलन छ । बालकदेखि युवायुवती र वृद्धवृद्धासम्म सबै यो पर्वमा सहभागी हुन्छन् । होलीले पुरानो मनमुटाव हटाएर आपसी सद्भाव बढाउने विश्वास गरिन्छ । घरपरिवार र साथीभाइ आपसमा रङ्गिएर उल्लासपूर्वक मनाइने फागुमा पहाड, तराइ, गाउँ, सहर जताततै रङ् दलेर रमाइलो गरिरहेका मानिसहरू भेटिन्छन् भने कहीँ खानापानमा रमाइरहेका भेटिन्छन् ।
रमाइलो गर्ने वहानामा अहिले युवापुस्ता मादकपदार्थ र लागूऔषधप्रति आकर्षित हुँदै गएको छ । यसले होली अहिले सामाजिक सद्भाव बिथोल्ने पर्व बनेको छ । यो अत्यन्तै दुःखको कुरो हो । विकृतिले गलत सन्देश प्रवाह गर्छ र समय बित्दै जाँदा आफ्नै मौलिक संस्कृति र परम्पराप्रति बितृष्णा हुन्छ । यसले हाम्रा सांस्कृतिक पर्व र चाडबाडहरू लोप हुने खतरा बढ्छ । हरेक वर्ष फागु पूर्णिमाको एक दिनमात्र मनाइने यो पर्वमा अहिले हप्तौं अघिदेखि अनेकौं रमझम सुरु हुन थालेको पाइन्छ ।

होलीमा अविर तथा पानीमा रङ् मिसाएर खेल्ने गरिन्थ्यो । अहिले यसमा पनि कुसंस्कारहरू भित्रिएको छ । अहिलेका युवाले होलीको महिमालाई चटक्कै भुलेर अविरको सट्टा केमिकल, इनामेल, फोहोर पानी र मलमुत्र प्रयोग गरेको पाइन्छ । होली आउनु हप्तौं अघिदेखि फोहोर पानीको लोला हान्दा सबैलाई अप्ठेरो भएका छ । स्कुल, कलेजका विद्यार्थीलगायत जो कोही पनि घरबाट बाहिर निस्कन नसक्ने स्थिति छ । यसबाट पठनपाठन र दैनिकी प्रभावित बनेको छ । यो होलीको दुःखद पक्ष हो । होली नआउँदै जथाभावी लोला हान्दा आपसी झगडा बढ्ने गरेको पाइन्छ । होलीमा ट्राफिक नियम उल्लंघनका घटनामा धेरैको ज्यान जाने गरेको पनि तथ्याङ्क छ ।
असत्यमाथि सत्यको विजय भएको खुसीमा यो पर्व मनाउने परम्परा बसेको हो । हाम्रो मौलिक परम्परा बनेर नसानसामा बगेको यस्ता पर्वलाई बिकृतिरहित बनाउन सकिए खुसीयाली मनाउनुको अर्थ हुन्छ । आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण बन्न सकेमा चाडपर्व सधैँका लागि जीवित हुन्छ र यसले सामाजिक सद्भाव बढाउँछ । त्यसैले हामी सबैले चाडपर्वलाई बाहिरी देखासिकीको सिकार हुनबाट जोगाउनु पर्दछ ।