मुस्ताङमा पर्यटक बढे

Highlights राष्ट्रिय समाचार

गलेश्वर, १७ चैत (रासस)/ हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेको जोमसोम विमानस्थलले जनाएको छ ।

त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधन मार्फत् मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ । विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुवैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन् ।

विगतका वर्षमा यो बेलामा कोभिडको जोखिमका कारण पर्यटक जान नपाएको भए पनि यस वर्ष घुम्ने मौसम सुरु भएको छ भने कोभिडको जोखिम कम हुँदै गएको छ । चैतेदसैँ नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको समेत मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ ।

त्यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक पनि सुरु भएकाले देश विदेशमा रहेका मुस्ताङ्गी पनि जिल्ला फर्कन थालेका छन् । मुस्ताङको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले गत फागुन २२ गतेबाट मुस्ताङ–पोखरा उडान पुनः सञ्चालनमा आएपछि अहिले दैनिक १५ सम्म उडान भएको जानकारी दिनुभयो ।

एउटा उडानमा १८ जनाको क्षमता रहेकाले हवाई मार्गबाट मात्रै दैनिक साढे दुई सयभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरिरहेको उँहाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार स्थलमार्गबाट मुस्ताङ छिर्नेको पनि उस्तै भीड छ । केही दिनयता दैनिक दुई हजार बढी पर्यटक बस, जिप र मोटरसाइकलमा मुस्ताङ आइरहेको उँहाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *