काठमाडौँ, १८ चैत (केटाकेटी अनलाइन) । प्रयास नेपालसँगको सहकार्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित ‘अनुभूतिमा कोभिड १९’ कथा/ चित्रकला लेखन कार्यक्रममा ६ जिल्लाका २०० बढी बालबालिकाहरु सहभागी हुनुभएको छ ।
विश्वविख्यात परीकथाकार हान्स क्रिश्चियन एन्डरसनको जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय बालपुस्तक दिवसका अवसरमा भर्चुअल माध्यमबाट आयोजित यस कार्यक्रममा सिन्धुपाल्चोक, रामेछाप, धादिङ, सिन्धुली, ओखलढुङगा र काठमाडौँ गरी ६ जिल्लाका बालबालिकाहरुलाई बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष एवम् केटाकेटी अनलाइनका सम्पादक कार्तिकेय घिमिरेले सिर्जनामा सहजिकरण गर्नुभएको थियो ।
तीन चरणमा आयोजन हुने यस कार्यशालामा सम्पन्न भएको यस पहिलो चरणमा प्राप्त रचना र चित्रकलाको अध्ययनपछि दोस्रो चरणमा समावेश हुन सफल हुनुहुने बालबालिकाहरुलाई दोस्रो चरणको तालिममा समावेश गरी त्यसपछिकाे तेस्राे चरणमा भएका सिर्जनाहरुमध्येबाट उत्कृष्ट ५१ सिर्जना समावेश गरी अनुभूतिमा कोभिड १९ (कथा र चित्रकला) नामक कृति प्रकाशित गरिने बताइएको छ ।