काठमाडौँ, १८ चैत (केटाकेटी अनलाइन)/ प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज धुमधामसँग मनाइयो । घोडेजात्राका अवसरमा नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत विविध कलाको प्रदर्शन गरेको थियो ।
किम्बदन्तीअनुसार घोडेजात्रा मनाउनुको रहस्य राक्षसको कथासँग जोडिएको छ । टुँडिखेलको पूर्व दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । त्यो राक्षसलाई उपत्यकावासीले जुक्ति लगाएर संहार गरे । त्यही राक्षसको प्रेतात्मा जागा भएर बालबालिकालाई दुःख नदेओस् भनेर हरेक वर्ष प्रत्येक चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर वर्षभरि उठ्न नसक्ने बनाउन घोडा दौडाउन सुरु गरिएको विश्वास गरिन्छ । साथै कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन चलि आएको छ । यसो गरेपछि वर्षभरि बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा रहेको देखिन्छ ।
घोडेजात्रालाई पिशाच चतुर्दशी पनि भनिन्छ । यो जात्रा हुने दिन टुँडिखेलमा घोडा दौडाउनुका साथै अरु विभिन्न देवी देवताका रथयात्राहरु पनि हुन्छ । त्यसैले चलन चल्तीमा यसलाई घोडेजात्रा भनिए पनि यो जात्रा तीन दिनसम्म मनाइने गरिन्छ । घोडेजात्रा औंसीका दिनमा हुन्छ । त्यसको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिन्छ । यस चाडको खास सुरुवात चैत्रकृष्ण अष्टमीका दिनदेखि हुन्छ । अष्टमीकै दिनमा पशुपतिनाथबाट शिवजीको एउटा सानो लिंगलाई बाजागाजाका साथ खटमा हाली ब्रह्मटोलको बुद्धविहारको खास ठाउँमा फोहर मैला फ्याक्ने रछानमा लगेर लुकाई राखिन्छ । यसै लिंगलाई शिवजीको पिशाच रुप मानिन्छ र नेवारीमा लुकु महाद्यो अर्थात् लुकुवा महादेव भनिन्छ । यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी, नुहाई दिई सफासुघर गरी मद्य मांस आदि तामसी भोग लगाइन्छ । यस भोगमा छ्यापी, लसुन जस्ता उत्तेजक भोजन बढी हुने गर्छ ।
यसरी तामसी भोग लगाएर पालामा तेलको बत्ती बाली राखिन्छ । त्यसै बत्तीको ध्वाँसोबाट बनाइएको गाजल झिकेर केटाकेटीका आँखामा लगाउने गर्दछन् । यो गाजल लगाउनाले केटाकेटीलाई भूत प्रेत पिशाच, डंकिनी जस्ता दुष्टात्माहरुबाट पीर बाधा हुँदैन, छौंडा बोक्सीको आँखा लाग्दैन भन्ने विश्वास गरिन्छ ।
यसरी तेलको ध्वाँसोबाट बनेको गाजल आँखामा लगाउनु वैज्ञानिक दृष्टिकोणले पनि लाभदायक हुन्छ भनिन्छ । यस विषयमा भाइबहिनीहरुले सोधखोज गरेर थप जानकारी हासिल गर्ने कोसिस गर्नुहोस् न है ।