नेपालको आफ्नै रेलमा सरर

Highlights तस्बिरको कथा राष्ट्रिय समाचार

जनकपुर, २० चैत २०७८/ जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय जनता उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट चैत १९ गते शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान साडे ८ बजे हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै सवा १० बजे आइपुगेको थियो । पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फका डिब्बामा यात्रु भरिभराउ भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो ।

निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उहाँको भनाइ छ । उहाँका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट साडे ८ बजे र ३ बजे छुट्नेछ भने कुर्थाबाट साडे १० बजे र सबा ५ मा अर्को रेल छुट्ने उहाँले जानकारी दिनुभयो । लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग भएका छन् ।

रेल सेवा सुरु भएसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने उहाँको विश्वास छ । जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरबाट टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए । रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन-हल्ट छन् । तिनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् ।

नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताउनुभयो । यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ । एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्को स्टेशन आउँछ । यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ ।”

डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *