पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भयाे

Featured राष्ट्रिय समाचार

पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा सो प्रतियोगिता शुरु भएको हो । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित प्याराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै प्रतियोगिता लगायत प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ खेलाडीबीच प्रतिस्पर्धा भएको छ । बाँकी खेल बिहीबार हुने जनाइएको छ । प्रतियोगितामा ७७ प्रतियोगी छन् । त्यसमा आठ महिला पाइलट रहेका छन् । प्रतियोगिताको अन्तिम दिन यही चैत २५ गते विभिन्न सांस्कृतिक भेषभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *