काठमाडौँ, २४ चैत/ नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो । आज मध्याह्न नेपाल आइपुग्ने ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने तयारी भएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।
कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत् सेफ साहसहितको टोलीलाई नेपाल बोलाएर मौलिक खाना संस्कृति र गन्तव्य प्रवद्र्धनमा सहभागी गराइने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले बताउनुभयो । उहाँले बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफलाई नेपाल भ्रमण गराई गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाले गरेको पहलले महामारीपछिको पर्यटन पुनरुत्थानमा विशेष सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । पाटाका सिइओसहितका पदाधिकारी, पर्यटन सम्बद्ध क्षेत्रका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, सेफ एशोसिएशन र हस्पिटालिटीका विद्यार्थीले विमानस्थलमा सेफ साहसहितको टोलीलाई भव्य स्वागत गर्ने कार्यक्रम छ ।
नेपालको संस्कृति झल्कने पहिरनमा पञ्चेबाजासहित सेफ टोलीलाई स्वागत गरिने जनाइएको छ । सेफ साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपा लगायतको टोली नेपाल आउने र नेपालका विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनमा सहभागी हुनेछन् । मौलिक संस्कृति र खाना मार्फत् गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ । मास्टर सेफ टोली आज काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न प्रचारात्मक गतिविधिमा संलग्न हुनेछ ।
निर्धारित कार्यक्रम तालिका अनुसार सेफ टोली ८ तारिख पोखरा जानेछ भने ९ तारिखमा काठमाडौँ फर्केर १० तारिखमा जनकपुर जाने र त्यहाँ आयोजना हुने ‘मिथिला खाना तथा रेसिपी’ विषयक कार्यक्रममा सहभागी हुनेछ । उक्त टोली ११ तारिखका दिन काठमाडौँमा आयोजना हुने पाटा नेपाल च्याप्टरको ४५ औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा सहभागी हुनेछन् । त्यसैगरी १२ तारिखकमा काठमाडौँमा ‘फाइनडाइनिङ’ कार्यक्रममा सहभागी भई १३ तारिखमा लुक्ला जाने र सगरमाथा आधार शिविर कालापत्थर भ्रमणको कार्यक्रम छ ।
उक्त टोली लुक्लाबाट फर्केपछि १५ तारिखमा बर्दिया जानेछ । बर्दियामा थारु संस्कृति तथा खानासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमसहित मास्टरशेफद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हंटिङ कार्यक्रम आयोजना गरिनेछ । १७ तारिखमा सेफ एशोसिएशनको कुकिङ प्रतियोगितामा सहभागी भएर सेफ टोली फर्किनेछ । पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवर्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।