आसन्न स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएको छ ।
वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेको थियो । त्यसमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १० आंशिक र दुई मत पूर्णरूपमा बदर भएको छ । उहाँले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताउनुभयो ।
नमूना मतदानको परिणामले मतदाता शिक्षाको अभाव भएको निर्वाचन अधिकारीको भनाइ छ । राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई यस बारे सिकाउनुपर्दछ । अन्यथा मत बदर हुने बढी सम्भावना देखिन्छ ।
स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल भएर मत बदर हुनसक्ने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले बताउनुभयो । बदर मतको सङ्ख्या कम गराउन राजनीतिक दलहरुले मतदाता शिक्षाका विषयमा मतदातालाई बैलैमा जानकारी दिनुपर्ने उहाँको भनाइ छ ।