रासस/ विश्व स्वास्थ्य सञ्जालले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । कोभिड–१९ को जोखिम विरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठक बसेको केही दिनपछि विश्व स्वास्थ्य संजालले स्वास्थ्य आपतकाल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।
संजालका पदाधिकारीको बैठकमा प्रकोपबाट जोगिने तथा उच्च सतर्कता अपनाउने लगायत नियन्त्रणात्मक उपायबारे छलफल हुने बताइएको छ । रोगको प्रकोप कुनै एक देश वा क्षेत्रमा सीमिति नभएकाले त्यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता भइसकेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् । हाल विश्वका ५८ देशमा मङ्कीपक्स फैलिएको र तीन हजार चारसय १७ जना बिरामी फेला परेका छन् ।