कर्णाली, १० असार (रासस) / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा रहेका टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पन्छी नष्ट गरिएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट सो फर्मका टर्कीमा बर्डफ्लु पुष्टि भएको हो । फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौं पठाइएको पशुपन्छी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी दिनुभयो । टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो । टर्कीमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशन पश्चात् पशुपन्छी चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटर क्षेत्रमा पालिएका पन्छी नष्ट गरिएको थियो ।
डिस्पोजल टोलीले बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार २०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुरा डिस्पोज गरेको निर्देशनालयले जनाएको छ । बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको छ ।