नेशनल प्याब्सन भक्तपुरमा बालकथा लेखन प्रतियोगिता सम्पन्न  

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

भाद्र ९, भक्तपुर / नेशनल प्याब्सन भक्तपुरले बालकथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । आधारभूत तह कक्षा ६ देखि ८ का विद्यार्थीहरुको लागि भाद्र ८ र ९ गते २ दिन बालकथा लेखनको प्रशिक्षण गरी भाद्र  ९ गते बालकथा लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।

बालकथा प्रतियोगितामा मदरल्याण्ड स्कुलकी सरिना लामा प्रथम, ग्लीटर फ्युचर स्कुलकी जीविका सिटिखू द्धितीय, पारागन एकेडेमी स्कुलका आयाम श्रेष्ठ तृतीय र साइनिगं स्कुलका अजित नेपाल सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो । साथै प्रोत्साहन स्वरुप युनिटी स्कुलकी आश्लिना खड्कालाई पुरस्क्रत गरिएको थियो ।

भाद्र ८ गते बालकथा लेखनको प्रशिक्षण बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष एवं बालसाहित्य लेखक कार्तिकेय घिमिरेले गर्नु भएको थियो । भाद्र ९ गते चर्चित लेखक/समालेचक महेश पैड्यालले लेखन प्रशिक्षण दिनुभएको थियो ।

 विजेता लगायत प्रतियोगितामा सहभागी ३० जना विद्यार्थीहरुले लेखेको कथा संग्रह फर चिल्ड्रेन बाइ चिल्ड्रेन बालबालिकाद्वारा बालबालिकाका लागि कार्यक्रम अन्तर्गत प्रकाशन गरिने बालसाहित्य प्रतिष्ठान नेपाले जनाएको छ ।

बालकथा लेखन प्रतियोगिताको समापन एवं पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेशनल प्याब्सनका राष्ट्रिय सह-अध्यक्ष सुवास न्यौपानेले शिल्ड, केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछुले मेडल र केन्द्रीय सदस्य जिबि खड्काले प्रमाणपत्र वितरण गरी विजयी विद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिनु भएको थियो ।

मन्तव्यका क्रममा राष्ट्रिय सहअध्यक्ष न्यौपानेले आफ्नो देशको पहिचान उच्च बनाउन साहित्य, संगीत र नृत्य शिक्षालाई विशेष जोड दिनुपर्छ भन्नुभयो । उहाँले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विद्यार्थीको रुचिको विषयमा ज्ञान र सिप आर्जन गर्ने अवसरहरु दिनुपर्ने कुरामा जोड दिनुभयो ।

नेशनल प्याब्सन भक्तपुरका सचिव जय प्रकाश राईले जिल्लामा रहेका सदस्य विद्यालयहरुको उत्थान र विद्यार्थीहरुको क्षमता विकासका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु गरिने बताउनु भयो ।

विद्यार्थीहरुको लेखन क्षमतामा अभिवृद्धि ल्याउन, सिर्जनशीलतामा विद्यार्थीहरुलाई रुचि राख्न प्रेरणा दिन, नेपाली भाषा एवं संस्कृतिको जगेर्ना गर्न, साँस्कृतिक सम्पदाको प्रवर्द्धन र संरक्षण गर्न समेत बालकथा लेखनले बालबालिकाहरु मार्फत मार्ग बन्ने कुरा नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बताउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तकेय घिमिरले बालबालिकामा सिक्ने जाँगर धेरै रहेकाले विद्यालयहरुले उनीहरुलाइ बढीभन्दा बढी पठन सामग्री उपलब्ध गराउन हरेक महिना नयाँ किताब पढेर समिक्षा तयार गर्ने विषयलाइ एक घन्टी छुट्याएर अघि बढ्नुपर्छ भन्नुभयो । उहाँले यसरी अगाडि बढ्न सके बालबालिका नेपाली र अग्रेजी दुवै भाषामा दक्ष हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी बालबालिकाहरुले कार्यक्रमबाट लेखनकला सिक्न निकै सहयोग पुगेको केटाकेटी अनलाइनसँग भिडियो कुराकानीमा बताउनुभएको छ । भिडियो केटाकटी अनलाइन युट्युब च्यानलमा हेर्न सकिने छ ।

कार्यक्रममा राष्ट्रिय विभूति जय पृथ्वीबहादुर सिंहको जन्मजयन्तीका अवसरमा सहभागी बालबालिकाहरुलाइ कार्तिकेय ट्रस्ट नेपालबाट सहयोग प्राप्त १५ हजार मूल्य बराबरका बालपुस्तकहरु उपहार प्रदान गरिएको थियो । कवि इश्वर थोकरले सहयोगी प्रशिक्षकको रुपमा रही सेवा प्रदान गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत विद्यालयलाई लेखक सुशीला देउजाद्वारा लिखित लोकप्रिय बालनियात्राकृति ‘सम्पदा दर्शन’ भाग १ र २ उपहार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *