५७ वर्षअघि मनाइएकाे पहिलो बालदिवसको सन्देश

Highlights तस्बिरको कथा मेरो आवाज

भाइबहिनीहरु,
आजभन्दा ५७ वर्षअघि २०२२ साल भदौ ३ गते पहिलो बालदिवस मनाइएको थियो । बालदिवस मनाउन सुरुवात गर्ने काम त्यो समयकी मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहले गर्नु भएको थियो । नेपालमा बालबालिकाको हकहितको संरक्षणका लागि बालमन्दिरको स्थापना भएपछि बालदिवस मनाउन सुरु गरिएको हो ।
पहिलो बालदिवसको सन्देश कस्तो थियो होला ?
यो जिज्ञासाले हामीलाई ता. मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहबाट बक्सेका भाषण तथा सन्देशहरु खोज्न उत्सुकता जगायो । आउनुस्, अब हामी पहिलो बालदिवसको सन्देश पढौँ ।

संसारका विभिन्न देशहरुमा बाल दिवस मनाइन्छ, यो कतै कुनै दिन, कतै कुनै दिन मनाइने भएकोमा यसपालिदेखि हरेक वर्ष हाम्रो देशमा आजको दिन (१९ अगस्तमा) बाल दिवस मनाउने श्री ५ को सरकारले निर्णय गरेको थाहा पाँउदा म गौरवान्वित छु । आजको युगमा विश्वसँग काँधमा काँध मिलाई हाम्रो देश पनि शान्ति र प्रगतिको बाटोमा लम्किरहेको कुरा यहाँ दोहर्याउनु पर्ने छैन । त्यसैले हामी बाल दिवसजस्ता अन्तर्राष्ट्रिय चाहाडलाई राष्ट्रिय पर्व झैँ मनाउँछौँ । यो पनि हाम्रो राष्ट्रिय संस्कृतिको अनुरुप छ भन्ने मलाई लाग्दछ ।
अनुशासित तथा सुशिक्षित बालक बालिकाहरु नै सदैव राष्ट्रका प्रमुख स्तम्भ हुन्छन् । मानव जातिको विकासमा बालक बालिकाहरुको व्यक्तिगत तथा सामूहिक विकासले निर्णायक स्थान राख्दछ भन्ने कुरा सर्वमान्य छ । बाल्यावस्थामा पाएको शिक्षा दीक्षा र पालन पोषण अनुसार नै बालक बालिकाहरुको प्रकृति बन्दछ । यो महान् सत्यलाई हृदयङ्गम गरी हामी सबैले नेपाली बालक बालिकाहरुको शारीरिक, मानसिक र बौद्घिक विकास गर्नमा आफ्नो शक्ति र साधनले भ्यायसम्म प्रयत्न गर्नु पर्दछ भन्नु अत्युक्ति नहोला । यसैमा हामी सबैको समृद्घिशाली भविष्य निर्भर गर्दछ । भोलिका योग्य देशसेवक तथा सेविकाहरु बन्न आजका बालक बालिकाहरु नै समर्थ होऊन्, यही मेरो आज हार्दिक कामना छ ।
जय नेपाल !
– मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *