भविष्यमा कुशल चित्रकार बन्ने लक्ष्य लिएकी छु : बालप्रतिभा स्वीकृति थोकर

Featured प्रतिभा परिचय

भाइबहिनीहरु, यो मंसिर महिनामा हामीले भविष्यमा चित्रकार बन्ने लक्ष्य लिनुभएकी चित्र बनाउन रुचि लिने बालप्रतिभा स्वीकृति थोकरसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौँ ।

बालप्रतिभा स्वीकृति २०६४ साल असोज ११ गते जन्मनुभएको हो । उहाँको बुवा सुब्बा थोकर र आमा भक्ति दोङ हुनुहुन्छ । उहाँ तेमाल गाउँपालिका वडा नं. ९, मुक्पा, काभ्रेपलाञ्चोकमा जन्मनुभएको हो । अहिले उहाँ  बासु मा.वि., कालिघाट, भक्तपुरमा कक्षा दसमा पढ्नुहुन्छ ।

     भविष्यमा चित्रकार बन्ने सपना छ भन्नुहुने उहाँ लक्ष्यमा पुग्न उहाँले अहिलेदेखि नै चित्रकलामा मिहिनेत गर्दै रहनुभएको छ । उहाँसँग केटाकेटी अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

१. तपाईं चित्र किन बनाउनुहुन्छ ? तपाईंले सानैदेखि चित्र बनाउने गर्नुभएको हो ?

चित्र बनाउँदा मन हलुका र आनन्दको महसुस हुन्छ । त्यसैले चित्र बनाउन मनलाग्छ । मलाई सानैदेखि चित्र बनाउन जाँगर लाग्थ्यो । चित्र बनाउँदा रमाइलो लाग्छ ।

२. के कुराको चित्र बनाउन मनलाग्छ ?

धेरैजसो खुला आकाश, रुख, जनावर र कार्टुनहरुको चित्र कोर्ने गर्छु । मैले अहिलेसम्म कोरिएका चित्रहरुमा चाहिँ प्राय: आकाश, रुख, घरहरु मात्र छन् । मलाई चाहिँ प्राकृतिक दृश्यहरुको चित्र बनाउन मनलाग्छ ।

३. अहिलेसम्म कस्तो कस्तो चित्र बनाउनु भएको छ ?

अहिलेसम्म मठमन्दिर, घर, आकाश, गाउँको दृश्यजस्ता चित्र बनाएको छु । बाहिर गएर अवलोकन गरी प्राकृतिक दृश्यहरुको चित्र पनि बनाएकी छु । विद्यालयमा गुरुले विभिन्न शीर्षकमा चित्र बनाउन गृहकार्य दिनुभएका चित्र पनि छन् ।

४. भविष्यमा के बन्ने लक्ष्य छ ?

भविष्यमा कुशल चित्रकार बन्ने लक्ष्य लिएकी छु । चित्रकारिता पढ्ने लक्ष्य छ । हेराैँ के हुन्छ, चित्रकारिता पढ्न महँगो छ रे भन्ने सुनेकी छु ।

५. चित्र बनाउन कहाँबाट सिक्नुभएको हो ?

चित्र बनाउन बच्चैदेखि रहर लाग्थ्यो । दाइहरुद्वारा पनि सिकेको छु । बच्चैदेखि चित्रकलामा रुचि भएकाले आफैँले प्रयास गरेँ र आफ्ना दाइहरुबाट पनि सहयोग लिएँ ।

६. चित्र बनाएर कुनै पुरस्कार जित्नुभएको छ ?

अहँ ! अहिलेसम्म चित्र बनाउने रुचि भए पनि प्रतियोगितामा भाग लिने अवसर पाएकी छैन । अवसर पाए हुन्थ्यो जस्तो लाग्छ । प्रतियोगितामा भाग लिने रहर भने धेरै छ ।

७. चित्रकला के हो जस्तो लाग्छ ?

चित्रकला यस्तो कला हो जसमा मानिसले आफ्नो मनमा भएको कुरा, आफूले भोगेका सुख, दु:ख, व्यथाजस्ता कुराहरु चित्रद्वारा व्यक्त गरिन्छ । आफ्नो मनमा भएको भावना र प्राकृतिक स्रोतहरुबाट दृश्यहरु मनमा खिचेर पनि चित्र कोर्नसकिन्छ । चित्रकला मानिसको भावना पोख्ने र सम्झेका कुराहरु चित्रद्वारा देखाइने कला हो जस्तो लाग्छ ।

८. तपाईँको विचारमा जीवन के हो ?

मेरो विचारमा जीवन चित्र कोर्ने, आफूले सकेको मिहिनेत गरेर पढ्ने, आमाबुबालाई खुसी राख्ने, अनावश्यक कुराको चिन्ता नलिइकन स्वतन्त्रताका साथ जिउने अवसर नै जीवन हो कि जस्तो लाग्छ ।

९. के गर्दा सबैभन्दा बढी खुसी लाग्छ ?

खुला आकाश, हरियाली, पोखरीलगायतका ठाउँहरुमा घुम्नपाउँदा र त्यहाँका दृश्य हेरिकन चित्र कोर्दा सबैभन्दा बढी खुसी लाग्छ । चित्रमा रङ भर्दा झन् बढी खुसी लाग्छ ।

१०. के भयाे भने दु:ख लाग्छ ?

कोठामै बस्नुपर्याे भने , हरियाली ठाउँहरु डुल्न नपाउँदा दु:ख लाग्छ । तर, सबैभन्दा धेरै दु:ख चित्र कोर्न नपाउँदा र कोरिएको चित्र बिग्रँदा लाग्छ ।    

     (तस्बिरमाअमेरिकी लेखक जुलुद्वारा लिखित बालचित्रकथाकाे किताब देखाउनु हुँदै स्वीकृति)                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *