ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोस्टेटको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो ।

पेलेले २१ वर्ष लामो खेल जीवनमा १ हजार ३ सय ६३ खेल खेल्दै १ हजार २ सय ८१ गोल गरेका छन् । उनले ब्राजिलका लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । १५ वर्षको उमेरमै खेल जीवनमा प्रवेश गरेका पेले १७ वर्षमै विश्व खेलाडी बनिसकेका थिए ।
सन् २०२० मा बीबीसी स्पोर्टस् भोटिङले पनि पेलेलाई महान् खेलाडीका रुपमा चिनाएको थियो । पेलेले क्लब खेल जीवनको अन्तिम खेल न्युयोर्क कसमसमा खेलेका थिए । उनले व्यावसायिक क्लब खेलाडीका रुपमा मात्र ६ सय ४३ गोल गरेका थिए । चर्चित खेलाडी पेलेलाई फिफाले सन् २००० मा नै शताव्दी फुटबल खेलाडीको सम्मान दिएको थियो । यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । पेले पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनी ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिएका थिए ।।