- पल्लबी खत्री, कक्षा : ८, सुदेशा स्कुल, ललितपुर ।
सम्झनाहरु हाम्रा लागि सबैभन्दा बहुमूल्य सम्पत्तिहरुमध्ये एक हुन् । सम्झनाको सहायताले हाम्रो विगतलाई सम्झन र विगतका घटनाहरुबाट पाठ सिकेर जीवनमा आफ्नो व्यक्तित्वलाई बलियो बनाउन मद्दत गर्दछ । हाम्रो जीवनमा दिनहुँ धेरै घटनाहरु भइरहेका हुन्छन् तर हामीले ती सबै घटनाहरु याद राख्दैनौँ । हाम्रा कतिपय सम्झनाहरु राम्रा हुन्छन् भने कतिपय नराम्रा वा अप्रिय हुन्छन् । भनिन्छ मान्छेको स्मरणशक्ति धेरै लामो छैन तर कतिपय सम्झनाहरुलाई समयले पनि मेटाउन सक्दैन ।
हाम्रा सम्झनाहरु विभिन्न ठाँउहरूसँग जोडिएका हुन्छन् जस्तै घर, पसल,अफिस र विद्यालय विद्यार्थीहरुले विद्यालयमा धेरै समय बिताउने भएको हुनाले उनीहरुका धेरै सम्झना विद्यालयसँग जोडिएको हुन्छ । कसैको विद्यालयमा पहिलो दिन पुरस्कार जितेको सम्झना हुन्छ भने कसैको कतै भ्रमण गएको सम्झना हुनसक्छ ।तर मेरो यही वर्ष २०७९ मा आफ्नै विद्यालयमा भएको खेलकुदमध्ये पनि फुटबल प्रतियोगिताको दिन अविष्मरणीय बनेको छ । मेरो दोस्रो घर मेरो विद्यालय जहाँ हरेक दिन नयाँ कुरा सिक्न र सिर्जनात्मक बन्न तथा प्रतिभा देखाउन अवसर दिइन्छ ।
त्यसैगरी मसँग पनि विद्यालमा बिताएका धेरै सम्झनाहरु छन् । जसमध्ये एक हो फुटबल प्रतियोगिता । प्रतियोगितामा हाम्रा विद्यालयका केटाहरु सहभागी थिए त्यस भब्य प्रतियोगिताका लागि अगाडिदेखि तयारी र अभ्यास गरिएको थियो । प्रतियोगिताको दिन कक्षा १-१० सम्मका सबै विद्यार्थी साथै शिक्षकसमेत खेल हेर्न उत्साहित हुनुहुन्थ्यो । व्यवस्थित ढङ्गले विद्यालयको आफ्नै खेल मैदानमा खेल सुरु गरियो । प्रतियोगीहरुको मिहिनेत उनीहरूको खेलमा झल्किरहेको थियो ।
त्यस दिन खेल्नेहरू सबैजना उत्साहित थिए । खेल रमाइलो र भावनात्मक हुँदै थियो । फरक-फरक समूह भएकाले दर्शक पनि आफ्नो मनपर्ने टिपले गोल हान्दा उफ्रिरहेको दृश्य अत्यन्तै मनमोह थियो । सबैले मिहिनेत गरेपनि खेलमा एक पक्षको मात्र जित हुन्छ । जित हासिल गर्न नसकेका खेलाडीहरुले पनि जित्ने खेलाडीहरुलाई बधाई दिए । सबै खेलाडीहरुले आफ्नो क्षमता कुशलताका साथ प्रदर्शन गरे । त्यो प्रतियोगिता सबै खेलाडीहरूको लागि एक अद्भुत अनुभव थियो । उनीहरु परिश्रम गर्न र खेलमा संलग्न हुन प्रेरित भए । खेलकुदको धेरै महत्व छ यसले हाम्रो शरीरलाई बलियो बनाउँछ । फुटबलजस्ता खेलकुदले मिलनसारको भावना बढाउँछ । खेलकुद बनाउनुको साथै हामीलाई खुसी र शान्त बनाउन मद्दत गर्दछ
खेलकुदका यिनै फाइदाहरुलाई मध्यनजर गरेर हाम्रो विद्यालयले अन्य खेलकुद प्रतियोगिता आयोजना गर्ने गर्दछ । मलाई चाहिँ अन्य खेलकुद भन्दा फुटबल मनपर्ने भएकाले मलाई यो दिन अझै यादगार र सम्झनलायक बन्यो । सधैँ विद्यार्थीको भावना बुझेर प्रतिभा चिनेर अवसर दिलाउने र हाम्रो मनोभावना बुझ्ने मेरो विद्यालयमा भएको फुटबल प्रतियोगिताको त्यो दिन मेरो लागि विद्यालयमा अविस्मरणीय दिन बनेको छ; सम्झना बनेको छ ।